गणतन्त्र कोरियामा नेपालीहरुको आत्महत्याको कारण र समाधान विषयक कार्यशाला गोष्ठी २०७४

गणतन्त्र कोरियामा नेपालीहरुको आत्महत्याको कारण र समाधान विषयक कार्यशाला गोष्ठी २०७४ को संक्षिप्त प्रतिवेदन

नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखा तथा अङ्कुर नेपालको संयुक्त आयोजनामा होटल हिमालय, कुपण्डोल ललितपुरमा गणतन्त्र कोरियामा नेपालीहरुको आत्महत्याको कारण र समाधान विषयक कार्यशाला गोष्ठी सम्पन्न भयो । कार्यक्रममा HRD Korea का निर्देशक श्री किम कि उक्ज्युले कोरियाका लागि रोजगार अनुमति प्रणाली अनुसार कृषि र औद्योगिक उत्पादन क्षेत्रमा गएका नेपालि कामदारहरु कामको सिलसिलामा विभिन्न कारणले मृत्यु हुन पुगेकाहरु मध्ये आत्महत्या गर्न पुगेका हरुको बढ्दो संख्याको कारण प्रस्थान पुर्व स्वास्थ्य परिक्षण गरिएता पनि मनोवैज्ञानिक परिक्षण विशेष रूपमा नगरिएको एवं विदेशको जीवन यापन स्वदेशको भन्दा विल्कुल फरक भएर समेत हुन सक्ने तथ्य माथि प्रकाश पार्नु भयो ।

कार्यक्रमका अध्यक्षता गर्नु भएका वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाका नेपाल निर्देशक श्री बाबुराम खतिवडाज्युले कोरियामा पुगेका नेपालि कामदारहरुको मृत्युको कारण एवं विवरण पेश गर्नु भयो । २००८ देखि २०१७ अगस्त सम्म जम्मा १३८ जना मृत्यु हुनेहरु मध्ये इपिएस भिषाका ७७ जना मृतकको संख्या रहेको त्यस मध्ये उल्लेख्य संख्यामा रहेका आत्महत्याका मृतकहरु छनौट प्रक्रियामा त्रुटि रहेको कुरामाथि आफ्नो स्पष्ट धारणा राख्नु भयो । उहाको अनुसार सन् २०१७मा मात्र १६ जनाको मृत्यु भएको जसमा आत्महत्याकै संख्या अधिक रहेको जानकारी गराउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि श्रम तथा रोजगार मन्त्रालयका सचिव श्री लक्ष्मण प्रसाद मैनालीज्युले नेपालिको आत्महत्या जस्तो घटनाहरुको विषय बडो संवेदनशील भएको यसलाई नेपाल र कोरिया दुवै देशको सरकारले उत्तिकै प्राथमिकताका साथ चासो दिएर आपसी सहकार्य गरेर एउटा मानवको सपना चकनाचुर हुन नदिन भूमिका खेल्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

गणतन्त्र कोरियामा नेपाल सरकारका तर्फबाट श्रम-सहचारीको रुपमा काम गरेर फर्कनु भएका श्री अनिल गुरुङज्युले आफ्नो ४ वर्षे कार्यकालमा मृत्यु भएका नेपालीहरुको तथ्याङ्क सहित आफ्ना धारणाहरु प्रस्तुत गर्नु भयो । जसमा १००-१५० सानो दुर्घटना, २५-४० ठुलो दुर्घटना, १५-२० जनाको अंगभंग तथा १३० जनाको मृत्यु भएको तथ्य सुनाउनु भयो । यो मृतकहरुको तथ्याङ्क अनुसार ३८ जना सुनेको अवस्थामा, ३६ जना आत्महत्या र २ जना हत्याको कारणले मृत्यु भएको देखाउनु भएको थियो । उहाका अनुसार आत्महत्याका कारणहरु अत्याधिक वितृष्णा घरपरिवारको व्यवहार उच्च महत्वाकांक्षा, सहकर्मी एवं मालिकको व्यवहार, मानसिक अवसाद जस्ता विषय कारक रहेको बताउनु भयो ।

यस्तो दुखद घटना न्यूनीकरण गर्ने विषयमा प्रशस्तै उपायहरुको खोजि र व्यवहारमा लागु गर्नु पर्ने कुरालाई स्पष्ट संग राख्नु भयो ।

मानसिक रोग विशेषज्ञ डा. रवि शाक्यज्युले आत्महत्या के हो ? कसरि र किन गर्छन भन्ने विषयलाई गहन ढंगबाट पेश गर्नु भएको थियो । आत्महत्याको उच्च जोखिम, संकेत एवं आत्महत्या न्यूनीकरण गर्ने उपायको बारेमा सम्वन्धित पक्षहरुले सतर्कता अपनाउनु पर्ने कुरामा सुझाव सहितको कार्यपत्र पेश गर्नु भयो ।

त्यस्तै मनोवैज्ञानिक डा. केदार बहादुर रायमाझीले आफ्नो टिप्पणिको क्रममा अहिलेको आम संचारको युगमा सहज ढंगबाट मनोपरामर्श र टेलिमेडिशिनको विधि उपयोगी हुने कुरालाई प्रष्ट पार्नु भयो । सम्वन्धित सरोकारवाला पक्ष तथा शिक्षण प्रशिक्षण विधिमा नै आत्महत्याको कारण र रोकथामको उपायको बारेमा प्रकाश पार्नु भयो ।

राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा. गणेश गुरुङ ज्युले नेपाली कामदारहरुको दक्षिण कोरियामा हुने गरेको मृत्यु त्यसमा प्रविधि र मनोविज्ञानले पारेको प्रत्यक्ष प्रभाव तथ्यगत रुपमा राख्नु भयो ।

टिप्पणिकर्ताहरु डा. केदार बहादुर रायमाझी, समाजसेवी श्री बेनु गुरुङ तथा श्री सिद्धि चन्द्र बराल्ज्युले रचनात्मक सुझावहरु दिनु भयो ।

कार्याक्रम को स्वागत अङ्कुर नेपाल का अध्यक्ष श्री लाल प्रसाद भट्टराई र उद्घोसण श्री प्रकास सुवेदीज्युले गर्नु भयो । तेश्रो सत्रमा अङ्कुर नेपालका व. उपाध्यक्ष श्री मिनोद मोक्तानज्युले आफ्नो प्रतिक्रियात्मक सुझाव पेश गर्नु भयो । श्री मोक्तानाज्युले तयार गर्नु भएको कोरियामा नेपालि कामदारहरुको अवस्थामा आधारित डकुमेन्ट्री समेत प्रस्तुत गर्नु भयो ।